तातोपानी नाकाप्रति किन सधैं सशंकित छ चीन ?

२०७२ सालको भूकम्प र त्यसपछि कोभिड–१९ महामारीका कारण लामो समय प्रभावित भएको तातोपानी नाका अझै पूर्ण रुपमा पुरानै अवस्थामा फर्किन सकेको छैन । चीनले गत भदौ १५ देखि अर्को सूचना नभएसम्म भन्दै तातोपानी नाका पूर्ण रुपमा बन्द गरे यता झन् यस क्षेत्र सुनसान बनेको छन । सीमा नाकाका बासिन्दा हताश देखिन्छन् । तर, स्थानीय, व्यवसायी र जनप्रतिनिधि चीनको विगतदेखि भूकम्पयता बदलिँदो व्यवहार देखेर निरन्तर प्रश्न गरिरहेका छन्ः तातोपानी नाकाप्रति किन सधैं सशंकित छ चीन ? नाका किन नियमित सञ्चालनमा आएको छैन ? विगत देखि आहिलेसम्मका सबैजसो औपचारिक र अनौपचारिक बैठक, छलफल र अनुगमनमा चीनले सीमा सुरक्षामा जोडमा दिएर नाकामा हुने गतिविधिप्रति सशंकित हुँदै आएको देखिन्छ ।

तातोपानी नाका नेपाल चीन जोड्ने छोटो र सहज नाकाको रुपमा चिनिन्छ । भूकम्प पछि चीनले तातोपानीको विल्कपमा केरुङ् नाकालाई व्यापारिक नाकाको रुपमा विकास ग¥यो । हालैको विनाशकारी बाढीले केरुङ नाका ध्वस्त बनाइदिएको छ । नाका सञ्चालन हुन सक्ने अबस्थामा छैन । चीन जोड्ने अन्य नाकाको रुपमा कोरला र हिल्सा लगायतका नाका सुचारु बनाउने प्रयास भए पनि ती नाकाले राजधानी काठमाण्डौलाई जोड्न निकै लामो हुन्छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार गत कात्तिक १ देखि ३ गतेसम्म खुलेर बन्द नाका आहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । कन्टेनर आवागमनका लागि नाका कहिले खुल्ने भन्नेबारे हालसम्म थप जानकारी केही नआएको उनले बताए । “नाका बन्द भएयता कन्टेनरका लागि खुल्ने वा नखुल्ने भन्नेबारे थप र स्पष्ट केही जानकारी आएको छैन । पर्यटकका लागि भने नाका खुला रहेको छ,” घिमिरेले भने ।

सिन्धुपाल्चोकको तातोपानी नाकास्थित मितेरी पुलपारि चिनियाँ भूभाग (खासा/झाङ्मु पोर्ट) तर्फ निर्मित आधुनिक संरचना र सुनसान देखिएको व्यापारिक क्षेत्र देखाउँदै स्थानीय । तस्बिर: अनिश तिवारी

नाका बन्द भएपछि चीनबाट आयात हुने सामानको आपूर्ति रोकिँदा सीमावर्ती बजारमा चिनियाँ सामान पाउनसमेत मुस्किल हुन थालेको छ । प्राकृतिक विपद्, महामारी तथा सुरक्षा संवेदनशीलता लगायत कारण देखाउँदै पटक–पटक नाका बन्द हुने गरेकाले सीमावर्ती व्यवसायी र स्थानीयमा यसपटक पनि अनिश्चितता बढेको छ । तर, तातोपानी क्षेत्रमा सडक र नाकाका पूर्वाधार संञ्चालन योग्य रहेको चरिकोट सडक डिभिजन कार्यालयले जनाएको छ । “बाह्रबिसेदेखि लिपिङ्सम्मको करिब २६ किलोमिटर सडकमा ४० फिटे मालवाहक कन्टेनरसमेत संञ्चालन गर्न सकिने गरी अवरोध हटाइएको छ, पहिरो पन्छाएर र अवरुद्ध स्थान खुलाएर सडक सञ्चालनयोग्य बनाइएको छ,सडक र पूर्वाधारका कारणले नाका बन्द हुनुपर्ने कारण छैन्,” चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख नारायण भण्डारीले भने ।

तर कोदारीको इको क्षेत्रमा सडक भासिने र पहिरो जाने समस्या अझै चुनौतीका रुपमा नभएको होइन । उता सडक सहज, व्यवस्थित छोटी भन्सार भवन, अध्यागमन र बन्दरगाह हुँदा पनि नाका नखुल्नुमा अर्को अर्थ पनि भएको बताउँछन् भोटेकोशी गाउँपालिका २ का अध्यक्ष कुमार श्रेष्ठ ।

“तातोपानी नाका पटक–पटक बन्द हुनुमा प्राकृतिक विपद् र सडकको अवस्थालाई प्रमुख कारण मानिन्छ । तर सीमाक्षेत्रमा लामो समयदेखि देखिँदै आएको चिनियाँ सुरक्षा चासोले पनि नाकाको संञ्चालन र आवागमनमा प्रभाव पार्दै आएको हो” उनले भने ।

यसअघि भूकम्पपछि करिब चार वर्ष बन्द भएको तातोपानी नाका २०७६ जेठमा पुनः संञ्चालनमा आएको थियो । त्यसयता कोरोना महामारी, बाढीपहिरो तथा सडकको भौगोलिक समस्याका कारण नाका नियमित सञ्चालन हुन सकेको छैन । यसपटक पनि नाका खुलाउन विभिन्न तहबाट पहल भइरहेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ र नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडले सरकारका विभिन्न निकायमा पटक–पटक ज्ञापनपत्र बुझाएका छन् ।

तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा नआउँदा सुनसान बनेको सीमावर्ती क्षेत्र र निर्माणाधीन संरचनाहरू । तस्बिर: अनिश तिवारी

दसैंलगत्तै गत ९ कात्तिकमा नेपाली कम्युनिस्ट पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटासहितको टोली चीनको ग्वान्झाउ पुगेको थियो । टोलीले चिनियाँ कम्युनिस्ट पार्टीको उच्च नेतृत्वसँग तीन दिनसम्म तातोपानी नाका संचालनका विषयमा छलफल गरेको पूर्वसांसद माधव सापकोटाले बताए । “तातोपानी नाका पुनः सञ्चालन गर्ने विषयमा हामीले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्वसँग छलफल र अनुरोध गरेका छौं । चीनबाट फर्किएलगत्तै हिमालय सीमापार वाणिज्य संघको कार्यालयमा व्यवसायीसँग पनि छलफल गरेका छौं,” सापकोटाले भने । त्यसपछि सिन्धुपाल्चोक–१ का सांसद भरतप्रसाद पराजुलीले पनि काठमाडौंमा व्यवसायीसँग छलफल गरेका थिए । बढ्दो दबाबपछि परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि चिनियाँ राजदूतसँग तातोपानी नाका सञ्चालनका विषयमा छलफल गरेका थिए ।

व्यापारभन्दा ठूलो सुरक्षा चासो

तातोपानी चीनका लागि तिब्बतसँग जोडिएको संवेदनशील सीमाक्षेत्र हो भने नेपालका लागि चीनसँगको पुरानो र महत्वपूर्ण व्यापारिक मार्ग । यही कारण दुवै देशका लागि नाकाको महत्व फरक छ । नेपाल व्यापार र आवागमनको निरन्तरतालाई प्राथमिकता दिन्छ भने चीनका लागि सीमा सुरक्षा प्रमुख चासो देखिन्छ । सीमाक्षेत्रमा हुने असामान्य गतिविधिप्रति चिनियाँ पक्षले कडा निगरानी गर्ने गरेको पछिल्लो एक ड्रोन घटनाले पनि देखाएको छ ।

व्यापारिक चहलपहल ठप्प भएपछि सटर बन्द रहेको सुनसान तातोपानी बजार क्षेत्र । तस्बिर: अनिश तिवारी

चिनियाँ प्रहरीका अनुसार गत असारमा दोलखाको बिगु गाउँपालिका हुँदै लप्ची पुगेका काठमाडौंका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगरले सीमा क्षेत्रबाट ड्रोन उडाएका थिए । ड्रोन चिनियाँ भूभागमा प्रवेश गरेपछि चिनियाँ सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए । न्यालम काउन्टीमा राखिएका दुवै युवालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि तातोपानी नाकाको मितेरी पुलमा ल्याएर नेपाली प्रशासनको जिम्मा लगाइएको थियो । उनीहरूलाई चिनियाँ प्रशासनले प्रतिव्यक्ति १ हजार युआन अर्थात् करिब २२ हजार ४ सय रुपैयाँ जरिवाना गरेको थियो । जरिवानामा मेडिकल परीक्षण, उपचार तथा अन्य खर्चसमेत समेटिएको सशस्त्र प्रहरीको तातोपानी बीओपीले जनाएको छ । यता प्रजापति र थापाले भने ड्रोननै नउडाएको र उनीहरु नेपालकै इलाकामा अवलोकन मात्रै गरिरहेको दाबी गरेका छन् । आफ्नै देशमा हिडिरिहँदा शंकाको भरमा आफुहरुलाई नियन्त्रणमा लिएको उनीहरुको भनाइ थियो । गत असार १९ गते रिहा भएपछि यसबारे उनीहरुले कतैपनि बोल्न चाहेनन् ।

भोटेकोशी गाउँपालिका–१, लिस्तीकोटको छगामस्थित सेङ्ङक बखाङ धोन्दुप धिङ गोन्पा आनी गुम्बा र आसपासको बस्ती । तस्बिर: अनिश तिवारी

तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चिनियाँ पक्षलाई उनीहरूले चिनियाँ भूभागका गतिविधि कुनै निर्देशनमा खिचेका हुन् कि भन्ने आशंका थियो । “ड्रोनमार्फत चिनियाँ भूभागका गतिविधि कसैको निर्देशनमा खिचिएको हो कि भन्ने चिनियाँ पक्षको आशंका देखिएको थियो,” तिमल्सिनाले भने, “त्यसबारे आवश्यक समन्वय र पत्राचार हामीले गरेका थियौं ।”

यो घटनाले पनि सीमा सुरक्षाको विषयमा चीन कति संवेदनशील र सशंकित छ भन्ने देखाउँछ ।

भूकम्पपछि बढेको सुरक्षा सतर्कता

स्थानीय अगुवा सानु शेर्पाका अनुसार २०७२ सालको भूकम्पपछि चिनियाँ पक्षको सीमाप्रतिको व्यवहारमा थप कडाइ देखिएको हो । भूकम्पका बेला खासा, रमिते आसपासका क्षेत्रमा उद्धार तथा अनुगमनका क्रममा केही स्थानीयका घरका पूजाकोठामा दलाई लामाका तस्वीर भेटिएको र त्यसपछि चिनियाँ पक्षले सीमापार आवतजावतलाई थप संवेदनशील रूपमा हेर्न थालेको उनको बुझाइ छ । “घरहरुमा दलाई लामाको तस्वीर राखिएको घटनाको म आफैं साक्षी भएँ,” शेर्पाले भने, “त्यसयता स्थानीय तिब्बतीहरू एक प्रकारले बन्धक जस्तै छन् । चीनबाट नेपाल आउन पनि कडाइ छ ।” उनको बुझाइमा सीमाक्षेत्रमा दलाई लामाका अनुयायी तथा तिब्बती धार्मिक गतिविधिको उपस्थितिले तातोपानीलाई चीनको सुरक्षा दृष्टिले थप संवेदनशील बनाएको हुन सक्छ । तर चीनले तातोपानी नाकामा कडाइ गर्नुको मुख्य कारण यही हो भन्ने औपचारिक पुष्टि भने छैन ।

सीमा क्षेत्रमा ड्रोन उडाएको आरोपमा चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएका काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगर। तस्बिर: अनिश तिवारी

सीमाक्षेत्रमा गुम्बा र तिब्बती धार्मिक प्रभाव

दलाई लामा निर्वासित भएपछि सन् १९६० को दशकतिर नेपालतर्फको तातोपानी, लिस्तीकोट, मार्मिङ र फुल्पिङकट्टी क्षेत्रमा थुप्रै गुम्बा स्थापना भएका थिए । भोटेकोसी–१ लिस्तीकोटको छगाममा रहेको सेंग्डक बखाङ धोन्दुप धिङ गोन्पा आनी गुम्बा तिब्बतबाट आएका धर्मगुरु सेंग्डक रिन्पोछेले स्थापना गरेको स्थानीयको भनाई छ । गुम्बामा ३० देखि ७० वर्ष उमेर समूहका सयभन्दा बढी आनी रहेको र तीमध्ये केही तिब्बती शरणार्थीसमेत रहेको स्थानीय बताउँछन् ।

यस्ता धार्मिक तथा सांस्कृतिक सम्बन्ध सीमावर्ती समाजको पुरानो विशेषता भए पनि चीनले धार्मिक गतिविधिलाई अत्यन्त संवेदनशील रूपमा लिने गरेको छ । यही कारण सीमापार आवतजावत र गतिविधिमा चिनियाँ सुरक्षा संयन्त्रको निगरानी कडा हुने गरेको स्थानीयको बुझाइ छ । सीमामा देखिएको कडाइलाई चीनको सुरक्षा चासोसँग मात्र जोडेर हेर्न नहुने धारणा पनि छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वमहासचिव शम्भु तिमल्सिना भने तातोपानी नाकाप्रति चिनियाँ व्यवहारमा आएको परिवर्तनको प्रमुख कारण नेपाली पक्षको सरकारी समन्वय र सहजीकरणको कमजोरी भएको बताउँछन् ।

“सरकारले नाका फराकिलो बनाउने आवश्यकतालाई गम्भीरतापूर्वक लिएन । फलस्वरूप नाका खुम्चिँदै गएको देखिन्छ,” उनले भने, “सरकारले राजस्वमा मात्रै ध्यान दिएको छ ।” उनका अनुसार चिनियाँ पक्षसँग नियमित संवाद, सीमा पूर्वाधार सुधार, व्यवसायी तथा स्थानीयको समस्या समाधान र नाकाको दीर्घकालीन सञ्चालनका लागि स्पष्ट योजना बनाउन नसक्दा तातोपानीको सम्भावना कमजोर हुँदै गएको हो ।

तातोपानी भन्सार कार्यालय, लिपिङ र बन्द अवस्थामा रहेको मुख्य सीमा नाकाको प्रवेशद्वार । तस्बिर: अनिश तिवारी

author

Anish Tiwari

CESIF Fellow